कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : महर

नेपाल

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको बताएका छन् ।

स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन समारोह सम्बोधन गर्दै उनले शुक्रबार बस्ने बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताए ।

शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले विधान र संविधानको सीमाभित्रै रहेर देश र कांग्रेसभित्रका सबै समस्याको निकास सम्भव रहेको बताए ।

‘शीर्ष नेतृत्व तहमा र अन्य समूहबीच फरक–फरक ढंगले गहन छलफल चलिरहेको छ । पार्टी एकताबद्ध हुन्छ र यथाशीघ्र निर्वाचनमा ठाडो शीरसहित होमिने वातावरण बन्दैछ,’ उनले भने, ‘अहिलेकै केन्द्रीय समितिमार्फत निकास निकाल्न हामी सबै प्रयासरत छौं ।

महरले पार्टी नेतृत्वले विगतका अभ्यासहरूको समीक्षा गर्दै स्पष्ट मार्गचित्र दिनुपर्नेमा जोड दिए ।

‘हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने र के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ,’ उनले भने, ‘भोलिका कर्णधार पुस्ताले स्पष्टता खोजेको छ ।’

नेता महरले जेनजी पुस्ताको प्रतिनिधिका रूपमा रहेका स्ववियु परिषद्का प्रतिनिधिहरूले समाजमा फैलिँदै गरेको राजनीतिक चेतनालाई सही दिशा र गति दिनुपर्ने पनि बताए ।

पार्टीभित्र युवाको सम्मानजनक उपस्थितिका लागि आफूले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा ठोस प्रस्ताव राखेको महरले जानकारी दिए ।

‘मैले जारी केन्द्रीय समितिमा युवाहरूको हरेक तहमा नेपाली कांग्रेसभित्र न्यूनतम ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्न प्रस्ताव पेस गरेको छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *