११ मंसिर, काठमाडौं । अपहरणमा १२ वर्ष कैद बसेर छुटेलगत्तै नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेका व्यक्ति अहिले चोरी तथा लुटपाटको कसुरमा पक्राउ परेका छन् ।
चोरी तथा लुटपाटमा संलग्न रहेको देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्दा ती व्यक्ति एमालेमा आबद्ध रहेको भेटिएको हो । त्यतिमात्रै होइन उनी यसअघि राजधानी काठमाडौंमै भएको एक चर्चित अपहरणमा दोषी ठहर भएर जेल सजाय भोगेको व्यक्ति समेत रहेको अनुसन्धानबाट खुलेको छ ।
ती व्यक्ति हुन्, लमजुङ दोर्दी गाउँपालिका–७ घर भएका ३९ वर्षीय टासी गुरुङ । उनको आपराधिक पृष्ठभूमि र राजनीतिक कनेक्शन देखेपछि अहिले अनुसन्धान अधिकारीहरू नै दंग परेका छन् ।
टासी अहिले एक महिलाको गलाको सिक्री लुटपाट आरोपमा प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । १ मंसिर दिउँसो ५ बजेर २८ मिनेट जाँदा नागार्जुन नगरपालिका–३ ठूलो भर्याङस्थित सडकमा एक महिलाको गलाको सिक्री लुटपाट भएको थियो ।
बाराको निजगढ घर भएकी ४२ वर्षीय सरस्वती तामाङले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री स्कुटरमा आएको दुई जनाको समूहले थुतेर लग्यो । अहिले यही कसुरमा टासीलाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
प्रहरी वृत्त स्वम्भूको टोलीले टासीलाई ९ मंसिर राति ८ बजेतिर तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट पक्राउ गरेको हो । अहिले उनीमाथि हातहतियार खरखजना तथा चोरी, लुटपाटको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
